-मात्रिका पौडेल
बौद्धिक बजारका अग्रजहरु फरक विचारलाई
सामाजिक फासीवादको जामा पहिर्याएर उम्किन खोज्छन् तर त्यो त बौद्धिक
फासीवाद भएन र ? हो, यसैलाई भनिएको हो पावर एलिट जमात ।
के हुन् पावर एलिट ?
समाजशास्त्री सि राइट मिल्सका अनुसार पावर
एलिट भनेको पढेलेखेका र शक्तिशाली व्यक्तिहरुको यस्तो समूह हो, जसले आफ्नो
विचारबाट राजनीतिक, सामाजिक र आर्थिक एजेण्डाहरुलाई नियन्त्रण गर्न खोज्छ ।
अमेरिकाको सन्दर्भमा मिल्सले प्रयोग गरेको
पावर एलिट शब्द नेपालको सन्दर्भमा कहीँ न कहीँ मेल खान्छ । नेपालका पावर
एलिट कुनै कुनै समयमा शासन सत्तामा आफ्नो विचारको प्रभुत्व कायम गर्थे ।
तिनीहरु अहिले कोही विस्थापित भए । केही बिचौलियाका रुपमा रुपान्तरित भएका
छन् ।
नेपालका सन्दर्भमा पावर एलिटका रुपमा
आफूलाई फरक बिचारकका रुपमा चिनाउन चाहनेहरुको समूह देखा परेको छ । यो समूह
कुनै निश्चित जात समूह वा क्षेत्रको नभई सबै समुदायका सम्भ्रान्तहरुको साझा
‘लुज फोरम’हो ।
खातापिता रैथाने परिवारमा जन्मिएर राम्रो
शिक्षा दीक्षा पाएका र विदेशका विश्वविद्यालयमा पढेका तथा अन्तर्राष्ट्रिय
मिडियामा प्रभाव र पहुँच भएकाहरु यो समूहका मेरुदण्ड हुन् । पावर एलिट
समूहले आफ्नो सुबिधा अनुसार भिन्नभिन्न समयमा भिन्न समुदाय वा व्यक्तिलाई
निशाना बनाउँछ । अहिले उनीहरुको निशाना पहाडे खस आर्यहरु हुने गरेका छन् ।
पावर एलिटको सफलता
देश विदेशका एजेन्सीहरुसँग राम्रो सम्बन्ध
भएका, राष्ट्रसंघ लगायत दातृ संस्थाहरुले पत्याएका व्यक्तिहरु हुनुको
फाइदा पावर एलिटहरुले राम्रोसँग उपयोग गर्न पाउँछन् । खासमा पावर एलिटहरुको
पारिवारिक विरासत खोतल्यो भने यिनीहरु इतिहासको कालखण्डमा राज्यका
शक्तिशाली निकाय वा व्यक्तिको आशिर्वादका कारण सबै अवसरहरु उपयोग गर्न सफल
भएको पाइन्छ । त्यसैले उनीहरुले सबै प्रकारका अवसर पाए र अहिलेको
व्यवस्थामा उनीहरु आफूलाई फरक धारमा स्थापित गराउन चाहान्छन् । वर्तमान
सन्दर्भमा पावर एलिटहरु राज्य विरुद्ध विशेषतः अन्तर्राष्ट्रिय समुदाय र
त्यसमा पनि दाताहरुबीच भ्रम छर्न प्रयोग हुने गरेका छन् ।
सोलोडोलो खस पहाडेलाई शासक भन्दिएपछि प्रगतिशील र सामाजिक न्यायको अभियन्ता भइहाल्ने ब्राण्ड पावर एलिटले स्थापित गरेका छन्
यो पावर एलिट समूह विदेशी समुदायलाई
नेपालको पहाडमा बस्ने खस बाहुन क्षेत्रीहरु शासक हुन् र यिनीहरु एलिट जाति
हुन् भन्ने भ्रम छर्न सफल भएको देखिन्छ । यथार्थमा कुनै जाति वा समुदाय सबै
एलिट हुने वा कुनै जाति समुदायका सबै मान्छे उत्पीडित हुने भन्ने परिभाषा
कहिँ कतै छैन ।
सरकारी सेवा, ब्यापार व्यवसायदेखि
राज्यसत्ता र वित्तीय क्षेत्रमा वर्चश्व राख्नेहरुको प्रतिशत केलाउने भन्दा
सोलोडोलो खस पहाडेलाई शासक भन्दिएपछि प्रगतिशील र सामाजिक न्यायको
अभियन्ता भइहाल्ने ब्राण्ड पावर एलिटले स्थापित गरेका छन् ।
पावर एलिटहरु सबै दृष्टिबाट साधनस्रोत
सम्पन्न छन् । यिनका कुरा विदेशीले पनि सुन्छन् र पत्याउँछन् । किनकी कागजी
प्रपोजल बनाउन यिनीहरुलाई कसैले सक्दैन ।
जसरी हिल एलिट भनेर पावर एलिटहरुले पहाडी
समुदायलाई एकोहोरो लान्छित गरिरहेका छन्,त्यसको प्रतिवाद गर्न जुम्ला वा
बाजुरामा बसेको खस बाहुन क्षेत्रीले सक्दैन । काठमाडौंमा आएर आफ्नो
प्रोफाइल बनाएका, प्रतिष्ठा कमाएका ‘हिल एलिटहरु’ बोल बोल मछली मुखभरि
पानीको अवस्थामा छन् । अरिंंगालको गोलामा ढुंगा हान्ने हिम्मत यो निम्न
मध्यमवर्गीय जिविकामुखी तप्कामा छैन । मनमनै मुर्मुरिँदै बस्नु र कसैले
प्रतिवाद गरिदियो भने पनि कानेखुसीको शैलीमा ठीक गरिस् भन्नु उनीहरुको
नियति हो । किनकि पावर एलिटको विचार विपरीत अभिव्यक्ति दियो भने नश्लवादी,
प्रतिगामी, ओलगार्की भइने डर छ ।
के गर्छन् पावर एलिटले ?
पावर एलिटहरु को हुन् त ? सिधा सिधा भन्ने
हो भने नेपालको वर्तमान सन्दर्भमा पावर एलिटहरु ती हुन् जो मुलुकमा
अस्थिरता र असन्तुष्टिको आगो बाल्न भएभरको शक्ति लगाउँछन् । यिनीहरुका लागि
बलियो र स्थिर राज्य दुश्मन हो । पावर एलिटले भिन्न भिन्न समयमा भिन्न
भिन्न एजेण्डाको वकालत गर्छ । जुन समयमा जुन ब्राण्ड बिक्छ त्यो ब्राण्डको
प्रचार-प्रसार गर्नु उनको बिजनेश हो । कुनै बेला माओवादी विद्रोहको ब्राण्ड
थियो,पछि आदिवासी जनजाति ब्राण्ड भयो । अहिले मधेसवादको ब्राण्ड बिकाउन
तल्लीन पावर एलिट समूहले कुनैबेला दशनामी ब्राण्डलाई पनि बोकेको थियो ।
संविधान जारी हुनुअघि सुर्खेत र जुम्लामा
आन्दोलन हुँदा उत्पीडितको आन्दोलन भनेर लेख्ने पावर एलिट त्यो समाधान
भएलगत्तै थरुहट आन्दोलन शुरु भएपछि सुर्खेती र जुम्लीलाई खस शासक वर्ग भनेर
गालीगलौजमा उत्रिए । उनीहरुको सुर्खेत जुम्ला ब्राण्ड एक साता पनि चलेन
त्यसैले मधेस र थरुहट पसे । मधेस र थरुहट आन्दोलनमा सुरक्षाकर्मीबाट अधिक
बल प्रयोगको विरोध गर्नुको साटो पावर एलिटहरु सुरक्षाकर्मीलाई जिउँदै
जलाइएको र एम्बुलेन्सबाट थुतेर मारिएको घटनालाई न्यायपूर्ण संघर्ष भनेर
उत्रिए ।
यस अर्थमा भन्न सकिन्छ कि पावर एलिटले
राज्यको दमन र आन्दोलनकारीको अत्याचारलाई निरपेक्ष रुपमा हेर्छन् । जबकि ती
दुबै गलत थिए । राज्यले शान्तिपूर्ण आन्दोलनमाथि अधीक बल प्रयोग गर्नु र
आन्दोलनकारीले हिंसा र हत्या गर्नु दुबै उत्तिकै दुःखद र निन्दनीय घटना
हुन् ।
प्रसुती पीडाभन्दा पीआरको पीडा
पावर एलिटले फेमिनिजमको वकालत त गर्छ, तर
आधारभूत वर्गका महिलाको प्रसुती गराउने बर्थिङ सेन्टर नभएर मृत्यु भएको
पीडाभन्दा उसका लागि घरानिया महिलाले विकसित देशको पीआर लिन नेपाली
नागरिकता त्यागेको विषय बढी पीडादायी हुन्छ । यिनीहरु ढोँगी हुन्छन् र
दुनियाँलाई ढाँटिरहन्छन् । बाजुरीका मनकली थापाका कथा लेख्ने बेला एउटा
पत्रकार एक्लै हुन्छ, तर नेपाललाई सराप्दै क्यानडाको नागरिक बनेकी अर्की
कुनै घरानियाँ थापाको बचाउका लागि संगठन बनाएरै उत्रिन्छन् ।
नेपालको राष्ट्रपति विश्वको शक्तिशाली
महिलाको सूचीमा दर्ज हुँदा गिज्याउने पावर एलिट समूह नेपाललाई धिक्कार्दै
पलायन हुने सम्भ्रान्त महिलालाई नेपाली महिलाको मानक बनाउन बल प्रयोग गर्छ ।
पावर एलिटहरु विद्या भण्डारी राष्ट्र प्रमुख, ओनसरी घर्ती व्यवस्थापिका
मुख र सुशीला कार्की न्यायपालिका प्रमुख बन्दा खिसिटिउरी गर्दै मूलधारका
सञ्चार र सोसल मिडियाबाट उडाउन उद्यत हुन्छ ।
देशको प्रगति कहिल्यै नसोच्ने, सामाजिक
संरचनाहरुमा भएका परिवर्तन र समावेशीकरणका पाइलाहरुलाई रोक्न खोज्ने र
राष्ट्रमा भएका सकारात्मक परिवर्तनलाई पटक्कै आत्मसात गर्न नसक्नु नेपाली
पावर एलिटको विशेषता हो ।
त्यसैले पावर एलिटहरु पहाड त हिमालमा
बस्ने खस क्षेत्री बाहुनलाई हिल एलिट भनेर अपमानित गर्छन् । तर, राजधानीमा
पुस्तौंदेखि राजा महाराजाको चाकर बनेर राज्यसत्ताको तर, मारेका घरानिया र
तिनका सन्ततिले एउटा किताब वा लेख लेखेकै भरमा उत्पीडितका मसिहा बनाउँछ यो
समूह ।
यो समूहले मध्यम वर्गलाई अत्यन्त घृणा
गर्छ, किनकि मध्यम वर्ग जहिले पनि प्रतिक्रिया जनाउँछ । प्रतिक्रिया
जनाउनु, लेख्नु वा विरोध गर्नु पावर एलिटले आफ्नोमात्र अधिकार ठानेको छ ।
राजनीतिक आन्दोलन दलहरुले गर्छन्, तर सामाजिक विभेद र भेदभावको अभियान
नागरिक तहबाट चलाउनुपर्छ भन्दा पावर एलिटलाई अपाच्य हुन्छ ।
किनकि राजनीतिक आन्दोलनमा घुसेर, उत्पीडित
समुदायका एजेण्डा अपहरण गर्नु पावर एलिटको प्रमुख विशेषता हो । मूलधारका
दलले भाउ नदिनुको कुण्ठा पनि पावर एलिटहरुमा बेला बेलामा प्रकट हुन्छ ।
नेपालको पावर एलिट ग्रुपमा स्थापित लेखक, साहित्यकार, पत्रकार, राजनीतिकर्मी र बिभिन्न विधाका विज्ञहरु छन् । बौद्धिक बजार यो समूहको सिण्डिकेटमा चलेको छ
कमजोर राज्य, पावर एलिटको स्वर्ग
पावर एलिटले आधारभूत तहका जनताको
समस्याबारे कहिल्यै लेख्दैन र बोल्दैन । किनकि उसलाई यसबारे जान्नु पनि छैन
। हरेक समस्यालाई राजनीतिकरण गरेर आफ्नो बजारी बर्चश्व कायम राख्नु र
सामाजिक समूहहरुबीच तीब्र घृणा तथा द्धेषको विउ छर्नु पावर एलिटको उद्देश्य
हो । त्यसैले पावर एलिटहरु मधेस वा पहाडमा हुने सामाजिक विभेदको कुरा
उठ्दा आक्रामक हुन्छन् । उनीहरु भन्छन्-पहिले राजनीतिक कुरा गर,सामाजिक
विभेद हामी आफैं मिलाउछौं । समग्रमा कमजोर राज्य पावर एलिटको लागि स्वर्ग
हो ।
पावर एलिटले मुुलुकमाथि थोपरिएको
नाकाबन्दी जायज थियो भन्छन् तर मुुलुकलाई कुनै एक छिमेकीसँग मात्र निर्भर
नहुने गरी अर्को छिमेकीसँग पनि पारवान सन्धी गर्दा नाजायज भन्छ । देशको
स्वाधीनता र आत्मनिर्भरताको कुरा गर्दा पावर एलिट नुवाकोटको तारुकामा माघे
संक्रान्तिको बेला जुधाउन तयार पारिएका साँढे जस्तै डुक्रिएर जाइलाग्छन् ।
सामाजिक सुरक्षा र तराई मधेसका सदरमुकामको पूर्वाधार विकासमा राज्यले ठूलो
लगानी गर्न अघि सर्दा पावर एलिट मुर्मुरिदै खुट्टा बजार्छ । सिमान्तकृत र
सामाजिक थिचोमिचो र छुवाछुतमा परेका दलितका लागि बजेट छुट्याउदा पावर
एलिटलाई चिटचिट पसिना आउछ ।
श्रष्टा मर्दा खुच्चिङ, आलोचकलाई अभियोग
नेपालको पावर एलिट ग्रुपमा स्थापित लेखक,
साहित्यकार, पत्रकार, राजनीतिकर्मी र बिभिन्न विधाका विज्ञहरु छन् ।
बौद्धिक बजार यो समूहको सिण्डिकेटमा चलेको छ । अरुले दलितका पीडा लेख्यो
भने यो झम्टिन्छ, तर अरुले गरेका राम्रा काम पटक्कै सुन्नै चाहँदैन ।
मान्छे मरेपछि जतिसुकै खराब भए पनि गाली गरिन्न । तर, पावर एलिट यस्तो जमात
हो, जसले कुनै स्रष्टा मरेपछि श्रद्धाञ्जली होइन, ‘त्यो सनातनी शासकको
सेवक थियो, जनअधिकारको पक्षमा कहिल्यै बोलेन’ भन्दै खुच्चिङ बजाउँछ ।
त्यसको पछिल्लो शिकार अम्बर गुरुङ भए, सबैले पढेकै हो ।
र अन्तमाः केही प्रगतिशील अग्रजहरुले
उहाँहरुको बिचारप्रति असहमति राख्नेलाई सामाजिक फासीवादी भन्नुहुन्छ ।
सामाजिक फासीवाद भनेको राज्यको लगानीमा हुर्किन्छ । सामाजिक सञ्जालमा
स्वस्फूर्त सामान्य नागरिकबाट आउने प्रतिक्रियालाई सामाजिक फासीवाद भन्ने
हो भने पावर एलिटले बिछ्याएको बौद्धिक धरापलाई के भन्ने ? बौद्धिक फासीवाद
भन्नुपर्ने होइन र ?
अरुको आलोचना गर्न कुनै सीमा र सभ्यता
नराख्ने तर आफ्नो आलोचना गर्नेलाई सामाजिक फासीवादी वा हिल एलिट भनेर
मुक्ति पाइएला र ? विचार मन नपर्ने बित्तिकै पहाडे उच्चजातीय खस
अहंकारवादी, नश्लवादी, महेन्द्रीय चिन्तनग्रस्त मनुवादी खोक्रो राष्ट्रवादी
जस्ता केही रेडिमेड अभियोग लाएर सधैं उम्किन मिल्दैन । विषय वा प्रसंगले
अर्को अर्थ नलागेमा यसले व्यक्तिगतरुपमा कसैलाई आरोपित गरेको छैन । तर,
पावर एलिटको अर्को विशेषता के हो भने, यो आफ्नो स्वार्थसमूहमाथि कतैबाट
बैचारिक आलोचना भयो भने संगठितरुपमा प्रतिवादमा उत्रिन्छ । जुन सामथ्र्य
उहाँहरुले नै भन्ने गरेका ‘हिल एलिट’हरुमा छैन ।
http://www.onlinekhabar.com/2016/06/442257/