सरूवा विरूद्ध महान्यायाधिवक्ताको कार्यालयका कर्मचारी आन्दोलित


 http://www.hamrakura.com/uploads/news/images/paripatra.jpg.jpeg

काठमाडौं । महान्यायाधिवक्ता हरि फुँयाललेले कर्मचारी सरूवामा राजनीतिक पूर्वाग्रह राखी कानूनी प्रावधान र आफ्नै प्रतिवद्धतालाई समेत लत्याउँदै निर्णय गरेको भन्दै महान्यायधिवक्ताको कार्यालयका निजामती कर्मचारी युनियन (संघ) आवद्ध कर्मचारीहरू आन्दोलित भएका छन् ।
आर्थिक वर्षको ११ औं महिनामा विशेष कारण नपरी काज तथा सरूवा गर्न नमिल्ने प्रावधान लत्याउँदै राजनीतिक आस्थामा टाढा रहेका कर्मचारीहरूलाई विधि विपरित सरूवा गरिएको भन्दै कर्मचारीहरूले आक्रोश पोखेका हुन् । मंगलबार महान्यायाधिवक्ताको नाममा ज्ञापनपज्ञ बुझाउँदै युनियनको विभागीय कार्यसमितिले सरकारलाई कानूनी परामर्श दिने निकायले नै विधि र प्रक्रिया लत्याउने हो भने मुलुकमा कानूनी राज अघि बढ्न नसक्ने दाबी पनि गरे ।

 विभागीय कार्य समितिका अध्यक्ष भरतकुमार मैनाली भन्छन् ‘यस अघि विभिन्न कार्यक्रममा आफैंले गरेको प्रतिवद्धता लत्याउँदै अन्तिम ११ औं महिनामा विभिन्न पदमा कार्यरत २८ जना कर्मचारीको सरूवा गरेको प्रति युनियनले आपत्ति जनाएको हो ।’ युनियनले ज्ञापनपत्र बुझाउँदै महान्यायधिवक्ताको ‘सरूवा सम्बन्धी मापदण्ड २०७३’ तयार पार्ने नायव महान्यायधिवक्ता बद्रीप्रसाद गौतमको संयोजकत्वमा समिति बनाई महान्यायधिवक्ताको कार्यालयमा क्रियाशील ट्रेड युनियनहरुबाट राय समेत लिई निजामती सेवा ऐन २०४९ को मर्म विपरित सरूवा नगर्ने महान्यायाधिवक्ता तथा नायव महानयाधिवक्ताबाट भएको प्रतिवद्धता समेत भुलेर राजनीतिक पूर्वाग्रहमा फसी आर्थिक वर्षको अन्त्यमा कार्यसम्पादन मुल्याङ्कन हुने र लेखा बन्द गर्ने बेलामा भएको सरूवा प्रति गम्भीर आपत्ति रहेको जनाएको छ ।

 त्यसो त सामान्य प्रशासन मन्त्रालयले गत जेठ १४ गते गरेको परिपत्रको पनि विपरित रहेको आरोप युनियनले लगाएको छ । उक्त मितिमा मन्त्रालयले यसरी अन्तिम महिनामा आएर सरूवा गर्नकोको लागि निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली–२०५० बमोजिम पर्याप्लत आधार कारण र औचित्यबाहेकको अवस्थामा सरूवा गर्ने वा काजमा खटाउने कार्य नियन्त्रण गर्न तथा सो विषयमा मन्त्रालयलाई जानकारी गराउन परिपत्र जारी गरेको थियो । तर यो परिपत्र विपरित हुने गरी सरूवा भएको आरोप पनि संघले लगाएको छ ।

उसले समयमा नै आफ्नो मागप्रति कार्यालय र महान्यायाधिवक्ता गम्भीर नभए आफू गम्भीर कदम चाल्न बाध्य हुने चेतावनी पनि युनियनले दिएको छ । उता, ज्ञापनपत्र बुझाउन जानलाग्दा महान्यायाधिवक्ताले भने आफूहरूलाई भेट्ने समय नै नदिएपछि स्वकीय सचिवमार्फत् ज्ञापनपत्र बुझाईएको युनियनका अध्यक्ष भरत मैनालीले जानकारी दिएका छन् । मंगलबार कुनैपनि समय ५ मिनेटको लागि मात्रै भन्दा पनि महान्यायाधिवक्ता फुयालले समय नदिएपछि आफूले स्वकीय सचिव मार्फत् पत्र बुझाएको उनले जानकारी दिए । उनले भने ‘स्वकीय सचिवलाई भन्दा तपाईँहरूसँग नभेट्ने भनेर भन्नुभएको छ महान्यायाधिवक्ताज्यूले भनेपछि हामीले उनै मार्फत् ज्ञापनपत्र बुझाएका हौं ।’

 
- See more at: http://www.hamrakura.com/news

Share this

Related Posts

Previous
Next Post »