भागबन्डाका न्यायाधीश ल्याउन लबिङ

भागबन्डाका न्यायाधीश ल्याउन लबिङ

खारेजीमा परेका २ दर्जन अतिरिक्त न्यायाधीशलाई नियुक्ति दिन कानुन बनाउने तयारी

 

असार २१, २०७३- नियुक्तिको सुरुमै विवादमा तानिएका र नयाँ संविधानपछि खारेजीमा परेका पुनरावेदन तहका २ दर्जन अतिरिक्त न्यायाधीशलाई फेरि न्यायालयमा प्रवेश गराउन प्रमुख राजनीतिक दलहरूले संसद्मा लबिङ थालेका छन् ।
कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदहरूले अब हुने उच्च अदालतमा ती न्यायाधीश ल्याउन मिल्ने गरी कानुन बनाउन संसद्मा संशोधन प्रस्ताव दर्ता गरेका छन् । नयाँ संविधानमा अतिरिक्त न्यायाधीशको व्यवस्था नराखिएकाले उनीहरूको म्याद थपिएको थिएन ।
बाहिरिएका २८ मध्ये १७ जना कानुन व्यवसायी पृष्ठभूमिबाट अतिरिक्त न्यायाधीश बनेका थिए । तत्कालीन प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको पालामा उनीहरूको नियुक्ति दलीय भागबन्डाका आधारमा भएको थियो । कांग्रेस, एमाले र माओवादी केन्द्र निकटका कानुन व्यवसायी पुनरावेदनमा पुगेका हुन् ।
सरकारले पेस गरेको न्याय परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा २८ न्यायाधीशलाई ल्याउन मिल्ने गरी सांसदहरूले संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।
त्यस्तो प्रस्ताव ल्याउने सांसदहरूमा कांग्रेसका राधेश्याम अधिकारी, रमेश लेखक, जीवनबहादुर शाही, एमालेका कृष्णभक्त पोखरेल र माओवादी केन्द्रका अन्जना चौधरी र प्रतिक्षा तिवारी मुखिया छन् । उनीहरूले न्यायाधीशका लागि अभिलेख तयार गर्दा संविधान जारी हुँदाको समयका पुनरावेदनका अतिरिक्त न्यायाधीशलाई समेत समावेश गर्नुपर्ने प्रस्ताव गरेका हुन् । तीनवटै दलका सांसदहरूले सोमबार दर्ता गरेको बेग्लाबेग्लै प्रस्तावका भाषामा केही फरक भए पनि ती न्यायाधीशलाई नियुक्तिमा समावेश गर्न पाउनुपर्ने प्रस्ट उल्लेख छ ।
‘अबको नियुक्तिमा म्याद थप नभएका अतिरिक्त न्यायाधीशहरूको नामसमेत सूचीमा समावेश गर्न मिल्ने गरी प्रस्ताव दर्ता भएको हो,’ उच्च अदालतको नियुक्तिमा उनीहरूलाई सहभागी गराउन बाटो खुला गराउने गरी कानुनी व्यवस्थाको प्रस्ताव भएको जानकारी दिँदै सांसद अधिकारीले भने ।
नयाँ संविधानले अतिरिक्त न्यायाधीशको व्यवस्था गरेको छैन । भइरहेका न्यायाधीश भने नियुक्ति हुँदा तोकिएको म्यादसम्म मात्र कायम हुने भनी संक्रमणकालीन व्यवस्था छ । उक्त अवधि गत चैत २६ गते सकिएपछि ती न्यायाधीश स्वत: बाहिरिएका थिए । ‘उनीहरूमध्ये राम्रा न्यायाधीशलाई ल्याउन मिल्ने गरी प्रस्ताव राखिएको हो । सबैलाई ल्याउनुपर्छ भन्ने होइन,’ एमालेका सांसद पोखरेलले भने ।
माओवादी केन्द्रका सांसद रामनारायण विडारीले पनि प्रस्ताव दर्ता गराएका छन् । तर, उनले भने अरू भन्दा बेग्लै भाषा प्रयोग गरेका छन् । उनको प्रस्तावमा संविधान जारी हँुदा बहाल रहेका अतिरिक्त न्यायाधीशको सट्टा नियुक्तिका लागि अभिलेखमा ‘न्यायाधीश भई काम गरिसकेका व्यक्ति’ भन्ने शब्द राखेका छन् । ‘कसैलाई जागिर दिने नियतका साथ कानुन बनाउन हुन्न । परिषद्ले चाहे न्यायाधीश भइसकेका व्यक्तिलाई फेरि नियुक्ति गर्न सक्छ । त्यसैले मैले तोकेर नभनेको हुँ,’ विडारीले भने ।
शर्माको पालामा ३४ अतिरिक्त न्यायाधीश नियुक्त भएकामा कानुन व्यवसायीबाट १६ जना परेका थिए । न्याय सेवाभित्रको बेथेतिप्रति असन्तोष व्यक्त गर्दै मिहिरकुमार ठाकुरले अवधि बाँकी हुँदै राजीनामा दिएका थिए । कानुन व्यवसायीबाहेक जिल्ला न्यायाधीश, सरकारी वकिल र कानुन समूहमा वर्षौं काम गरेका व्यक्ति पनि अतिरिक्तको उक्त सूचीमा परेका थिए । संविधान जारी भएका बेला भने ५ जनाले उमेर हदले अवकाश पाई २८ जना कायम भएका थिए ।
कानुन व्यवसायीको सूचीमा परेकालाई स्थायी गर्न परिषदभित्रै सहमति जुटेको थिएन । तीमध्ये कतिपय पेसागत दक्षता नभएका, कनिष्ठ र दलीय फेरो समाएर मात्र अतिरिक्त न्यायाधीशमा नियुक्त भएको भन्दै उनीहरूलाई स्थायी गर्ने विषयमा विवाद भएको थियो ।
त्यतिबेला कांग्रेसबाट ७, एमालेबाट ४, माओवादीबाट २, मधेसबाट एक जना अतिरिक्तमा परेका थिए । तत्कालीन प्रधानन्यायाधीश शर्माका नातेदार मनोजकुमार शर्मासमेत उक्त सूचीमा परेका थिए । ती न्यायाधीशहरूमा ईश्वरीप्रसाद घिमिरे, नित्यानन्द पाण्डे, राजेश्वर तिवारी, दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई, नरबहादुर शाही, शान्तिसिंह थापा, नारायणप्रसाद साह छन् । त्यस्तै, जगन्नाथ महतो सिंह, तेजबहादुर राई, यमुना भट्टराई, नन्दलाल महतो थारू, सरिता शर्मा, नीलम पौडेल र अनिता मानन्धर जोशी उक्त सूचीमा थिए ।
दलीय कोटामा परे पनि पेसामा नभिजेका, कनिष्ठलाई सिफारिस गरिएको भन्दै न्याय क्षेत्रमा त्यतिबेला आलोचना भएको थियो । सेवा प्रवेशपछि पनि उनीहरूको कार्यसम्पादन सकारात्मक नभएको भन्दै स्थायी गर्नसमेत विलम्ब गरिएको थियो । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र परिषदका अन्य वरिष्ठ सदस्यले उनीहरूलाई स्थायी गर्न नहुने अडान बैठकमा राख्दै आएका थिए ।
यसैबीच, सांसद पोखरेलले भने प्रमुख जिल्ला अधिकारीको निर्णय चित्त नबुझे जिल्ला अदालतमा सुनुवाइ हुने र त्यो निर्णय अन्तिम हुने भन्ने विधेयकको अर्को व्यवस्थासमेत संशोधन गर्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् । ‘जिल्ला अदालतको निर्णय अन्तिम हुनै सक्दैन । त्यसमाथि पनि पुनरावेदन लाग्नुपर्छ भनी संशोधन दर्ता गरेको हो,’ उनले भने । उक्त विधेयक र परेका संशोधनमाथि विधायन समितिले छलफल गर्नेछ । त्यसपछि प्रतिवेदनसहित पारितका लागि संसदको पूर्ण बैठकमा जानेछ ।
http://bit.ly/29jooI9
न्यायाधीश, न्यायपरिषद्का सदस्य र राजदूतको सुनुवाइ अन्योलमा

न्यायाधीश, न्यायपरिषद्का सदस्य र राजदूतको सुनुवाइ अन्योलमा

संसदीय सुनुवाइ प्रक्रियामा संविधानमै गम्भीर त्रुटि

न्यायाधीश, न्यायपरिषद्का सदस्य र राजदूतको सुनुवाइ अन्योलमा

संविधानमा भएको गम्भीर त्रुटिका कारण संवैधानिक परिषद्बाहेकका निकायबाट सिफारिस भएका पदहरूमा संसदीय सुनुवाइ हुन नसक्ने देखिएको छ ।संविधानले संवैधानिक परिषद्बाट सिफारिस भएका व्यक्तिको मात्र संसदीय सुनुवाइ हुने व्यवस्था गरेका कारण यो निकायबाहेकबाट सिफारिस भएकाको सुनुवाइ प्रक्रिया कसरी अघि बढाउने भन्नेमा सुनुवाइ समितिसमेत अन्योलमा परेको छ ।
लामो दलीय विवादपछि बनेको सुनुवाइ समितिले संवैधानिक परिषद्, न्यायपरिषद् र मन्त्रिपरिषद्ले नियुक्ति सिफारिस गरेका व्यक्तिको सुनुवाइ प्रक्रिया अघि बढाउँदै उजुरीका लागि सार्वजनिक सूचनासमेत आह्वान गरिसकेको छ । उजुरीमाथि कसरी छानबिन गर्ने भन्ने विषयमा समितिमा सुरु भएको आन्तरिक छलफलमा संविधानले संवैधानिक परिषद्बाहेकको सिफारिसलाई सुनुवाइ गर्न नमिल्ने विवाद झिकेपछि अन्य निकायको सिफारिस सुनवाइमा असर पर्ने देखिएको छ ।
संविधानको धारा २९२ ले संवैधानिक परिषद्बाट सिफारिस भएका व्यक्तिको सुनुवाइ हुने उल्लेख गरेको तर न्यायपरिषद्, मन्त्रिपरिषद्, प्रधानमन्त्रीको सिफारिस र नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त हुनेको सुनुवाइ परिकल्पना नगरेकाले सुनुवाइ प्रक्रिया सुरु भइसकेपछि यस्तो अन्योल उत्पन्न भएको हो ।

‘संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुनेछ,’ संविधानको धारा २९२ मा उल्लेख छ ।
यो धारा न्यायपरिषद्लगायतको सिफारिस विषयमा मौन छ । तर, नेपालको अन्तरिम संविधानले भने सिफरिस हुने निकायलाई स्पष्ट व्यवस्था गरेको थियो । ‘यस संविधानबमोजिम संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने संवैधानिक पद तथा सर्वोच्च अदालतका न्यायाधीश र राजदूतको पदमा नियुक्ति पूर्वनिजहरूको कानुनमा व्यवस्था भएबमोजिम संसदीय सुनुवाइ हुनेछ,’ अन्तरिम संविधानको धारा १५५ मा उल्लेख थियो ।
सुनुवाइ समितिका सदस्यहरूले दुई संविधानले गरेको व्यवस्था तुलना गर्दै संविधानको व्यवस्थामा त्रुटि रहेका कारण संवैधानिक परिषद्बाहेकका निकायले गरेको सिफारिसमा सुनुवाइ गर्न नमिल्ने अडान लिएका हुन् ।
संविधानको यो त्रुटिपूर्ण व्यवस्थाका कारण प्रधानन्यायाधीश र निर्वाचन आयोगका प्रमुख आयुक्तको मात्र संसदीय सुनुवाइ अघि बढाउन संवैधानिक बाटो खुल्नेछ । संविधानको यो व्यवस्थाका कारण न्यायपरिषद्ले सर्वोच्च अदालतका स्थायी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेका ११ र मन्त्रिपरिषद्ले सिफारिस गरेका २२ राजदूतको सुनुवाइ अन्योलमा पर्ने भएको हो । संविधानको यो त्रुटिपूर्ण व्यवस्थाका कारण न्यायपरिषद्का दुई सदस्यको सुनुवाइ पनि प्रभावित हुने देखिएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने र नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने न्यायपरिषद्का दुई सदस्यको सुनुवाइ पनि संविधानको धारा २९२ को व्यवस्थाका कारण अन्योलमा पर्नेछ । संविधानले न्यायपरिषद्को सदस्यको पनि संसदीय सुनुवाइ हुनुपर्ने नयाँ व्यवस्था गरेको छ ।
संविधानअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्त, महालेखा परीक्षक, लोकसेवा आयोगका अध्यक्ष र सदस्य, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्त, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र सदस्य, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष र सदस्य, राष्ट्रिय महिला आयोगका अध्यक्ष र सदस्य, राष्ट्रिय दलित आयोगका अध्यक्ष र सदस्य, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष र सदस्य, मधेसी आयोग, थारू आयोग, मुस्लिम आयोगका अध्यक्ष र सदस्यहरू संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने व्यवस्था छ ।
संविधानको धारा २९२ अनुसार यीबाहेक अन्य निकायको सुनुवाइमा प्रत्यक्ष बाधा पर्नेछ । व्यवस्थापिका–संसद् नियमावलीको नियम १ सय ८४ मा संविधानको धारा २ सय ९२ बमोजिम संसदीय सुनुवाइ गरिने उल्लेख छ ।

यसकारण त्रुटि अन्तरिम संविधान

यस संविधान बमोजिम संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने संवैधानिक पद तथा सर्वोच्च अदालतका न्यायाधीश र राजदूतको पदमा नियुक्तिपूर्व निजहरूको कानुनमा व्यवस्था भएबमोजिम संसदीय सुनुवाइ हुनेछ । (धारा १५५)

नेपालको संविधान

संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुनेछ । (धारा २९२)
http://rajdhani.com.np/article/0181136001467594324
न्यायाधीश बमका हत्यारा बाबु थापासहित ४ लाई जन्मकैदको फैसला

न्यायाधीश बमका हत्यारा बाबु थापासहित ४ लाई जन्मकैदको फैसला

प्रेमराजलाई ५ वर्ष जेल सजाय

Babu-thapa-pakrau-1
१९ असार, काठमाडौं । जिल्ला अदालत ललितपुरले सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न बाबु थापा भन्ने मघबहादुरसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
थापा तत्कालीन चुरेभावरका उपाध्यक्ष समेत हुुन् । पार्टी आधारिकता विवादमा न्यायाधीश बमको फैसलाले गृहराज्यमन्त्री हुने सपना तुहिएको भन्दै उनकै योजनामा २०६९ जेठ १८ गते न्यायाधीश बमको गोली हानेर हत्या भएको थियो ।
न्यायाधीश ओमप्रसाद अयार्लको इजलासले योजनाकार थापा र दीपककुमार कर्णलाई जन्मकैदको फैसला सुनाएको हो । शुटर करण भन्ने शिव चौधरी र संजय स्माइली मगरलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको श्रेश्तेदार बाबुराम दाहालले जानकारी दिए ।
न्यायाधीश बम हत्याकाण्डका अर्का अभियुक्त प्रेमराम खड्कालाई भने ५ वर्ष कैद सजाय सुनाइएको छ । हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले बाबुसहित चार जनालार्इ २०७१ साल पुसमा पक्राउ गरेको थियो । संजय भने भागेर साउदी पुगेका थिए । बैदेशिक रोजगारीका क्रममा त्यहाँ पुगेका उनलार्इ प्रहरीले त्यही वर्ष चैतमा पक्राउ गरेको थियो ।
http://www.onlinekhabar.com/2016/06/445946/
पूर्वराजा ज्ञानेन्द्रकी छोरीको फैसला लेख्न एक वर्ष

पूर्वराजा ज्ञानेन्द्रकी छोरीको फैसला लेख्न एक वर्ष


 काठमाडौं, असार १३ 


पूर्वराजा वीरेन्द्रको सम्पत्ति दाइजो दिन नमिल्ने भन्दै पुनरावलोकनको तयारी
पूर्वराजा वीरेन्द्रको नामको जग्गा उनका भाइ ज्ञानेन्द्रकी छोरीले दाइजो पाएकाले उनैको नाममा हुने भन्दै गरिएको फैसला लेख्न न्यायाधीशहरुले एक वर्ष लगाएका छन्।
१५ दिनमा फैसला तयार पार्नुपर्ने नियम भए पनि पूर्वप्रधानन्यायाधीश रामकुमार शाह र बहालवाला न्यायाधीश चोलेन्द्र शमशेर राणाले झन्डै वर्षदिन लगाएका हुन्।
उनीहरुको इजलासले पूर्वराजा वीरेन्द्रको सम्पत्ति भन्दै छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा र त्यसमा बनाइएको घर नेपाल ट्रष्टमा गभ्न सरकारले गरेको निर्णय बदर गरी पूर्व राजकुमारी प्रेरणाको नाममा गरिदिएको थियो।
उक्त फैसला अन्तरिम संविधानविपरीत भएको, हेर्न नमिल्ने (स्वार्थ गाँसिएका) न्यायाधीश राणाले हेरेको र नियतवश नै छिटो फैसला गरिएको भन्ने आरोप लाग्दै विवादास्पद् बनेको थियो।
आफ्नो अवकासको पूर्वसन्ध्यामा २०७२ असार ६ गते साहले फैसला गरेका थिए। फैसलाको पूर्णपाठ भने झन्डै वर्ष दिनपछि जेठमा मात्रै तयार भएर आएको सर्वोच्च अदालतले जनाएको छ।
जबकि फैसला सुनाएको मितिले अन्य मुद्दा सात दिनभित्र र सार्वजनिक सरोकारको नयाँ सिद्धान्त प्रतिपादन गर्नुपर्ने मुद्दा भए १५ दिनभित्र पूर्णपाठ तयार गरेर बुझाउनुपर्ने नियम छ। सर्वोच्च अदालत नियमावलीको नियम ६८ (क) मा उक्त कुरा उल्लेख छ।
सरकारले पूर्वराजा वीरेन्द्रको सम्पत्ति भन्दै छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा र घर नेपाल ट्रष्टमा गाभ्न २०६४ सालमा पुस १ गते निर्णय गरेको थियो।
 त्यसविरुद्ध पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्यलक्ष्मी साह सर्वोच्च पुगेकी थिइन्। त्यो जग्गा आफूले दाइजोमा पाएको र सरकारले आफूलाई थाहै नदिई गरेको निर्णय बदर गरिपाउँ भन्दै २०७१ माघ २५ मा उनले रिट दिएकी थिइन्।
सरकारले राजतन्त्र हटेपछि दरबार र राजा वीरेन्द्रसहित उनका परिवारको सम्पत्तिलाई नेपाल ट्रष्टको नाममा गर्ने निर्णय गरेको थियो।
अन्तरिम संविधानको धारा १५९ को उपधारा १ मा पनि यही लेखिएको थियो। उपधारा २ मा राजाको हैसियतले ज्ञानेन्द्रका नाममा भएको सम्पत्ति राष्ट्रियकरण हुने उल्लेख थियो। संविधानअनुसार २०६४ सालमा नेपाल ट्रष्ट ऐन बनेको थियो।
सरकारले निर्णय गर्नुभन्दा अघि नै छाउनीको उक्त जग्गा आफूले दाइजो पाएकाले ट्रष्टमा गाभ्ने अधिकार सरकारलाई नभएको प्रेरणाको जिकिर थियो।
न्यायाधीशद्वय साह र राणाको फैसलाले उनको जिकिरलाई सही मान्दै २०७२ असारमा फैसला गरेको हो।
पूर्णपाठमा प्रेरणाको पक्षमा फैसला गर्नुका तीनवटा कारण दिइएको छ:
पहिलो, छाउनीको कित्ता नम्बर २५ को १५ रोपनी १ आना जग्गा र घर २०६२ सालमा महाराजधिराजका नाममा रैकर दर्ता भएको। दर्ता हुँदा महाराजधिराजका रुपमा ज्ञानेन्द्र रहेकाले उनैले त्यो जग्गा छोरीलाई दाइजो दिएको देखिन्छ। यो जग्गा वीरेन्द्र र उनका परिवारको नाममा भएको कसैले देखाउन नसकेको उक्त फैसलामा भनिएको छ।
दोस्रो, दाइजो बकस पाइसकेपछि बनेको कानुन देखाएर ट्रष्टले उक्त सम्पत्ति आफ्नो स्वामित्वमा ल्याउन पाउँदैन। 'राजा वीरेन्द्र, रानी ऐश्वर्यसमेतको नाममा रहेको सम्पत्ति मात्र नेपाल ट्रष्टमा ल्याउन बनेको कानुनका आधारमा तत्कालीन श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट आफ्नी छोरीलाई दाइजो दिइसकेको सम्पत्ति पछि बनेको कानुन देखाएर ट्रष्टको स्वामित्वमा ल्याउन र निवेदिकाको हकको सम्पत्ति हरण गर्न मिल्दैन,' फैसलामा उल्लेख छ।
तेस्रो, नेपाल ट्रष्टको स्वामित्वमा ल्याउने निर्णय गर्नुपूर्व उक्त सम्पत्तिको हकभोगवाला प्रेरणालाई जानकारी नदिएको र आफ्ना कुरा राख्ने मौकै नदिएको। 'सम्पत्ति वा अन्य कुनै हकमा आघात पुग्ने कुनै निर्णय वा काम कारबाही गर्नुगर्दा हकवालालाई सुनुवाइको मौका दिइनुपर्छ,' फैसलामा लेखिएको छ, 'कित्ता नम्बर २५ को जग्गा समेत ट्रष्टको नाममा ल्याउनुपूर्व सो सम्पत्तिको हकभोगवाला यी निवेदिकालाई बुझ्दै नबुझी गरेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय समेत प्राकृतिक न्यायको सिद्धान्तविपरीत देखिन्छ।'
सरकारी वकिलका अनुसार, वीरेन्द्रकी फूपु अधिराजकुमारी विजया राज्यलक्ष्मी देवी शाह मोही र भीमसेन तथा वर्ष बन्धन गुठी जग्गाधनी थिए। कित्ता नम्बर ३७, ३८, ४० र ४१ का ती जग्गा राजा वीरेन्द्रले नापी गराएर 'श्री ५ महाराजधिराज' नारायणहिटी राजदरबारको नाममा नामसारी भएको थियो। ती कित्ता भिडाएर नयाँ नापी हुँदा कित्ता नम्बर २५ बनाइएको छ। २०६२ सालमा रैकरमा दर्ता हुँदा श्री ५ महाराजधिराज ज्ञानेन्द्र थिए।
सरकारी जिकिर के भने, त्यो जग्गा ज्ञानेन्द्रको नाममा नभई महाराजधिराजको नाममा थियो। अन्तरिम संविधानले पनि राजाको हैसियतले ज्ञानेन्द्रको नाममा भएको जग्गा राष्ट्रियकरण हुने लेखिएको छ। ज्ञानेन्द्रले छोरीलाई दाइजो दिएको भनिएको जग्गा उनको नाममा अहिलेसम्म पनि छैन।
त्यसैले उक्त जग्गा व्यक्तिगत सम्पत्ति नभई राष्ट्रिय सम्पत्ति हो भन्ने सरकारी दाबी हो।
नेपाल ट्रष्टको कार्यालयले यही जिकिरसहित यो फैसलाविरुद्ध पुनरावलोकन दिने तयारी गरिरहेको छ।
http://setopati.com/raajneeti/48884/
डा. गोविन्द केसीको चाँडो उपचार गर्न सरकारलाई अख्तियारको ‘निर्देशन’

डा. गोविन्द केसीको चाँडो उपचार गर्न सरकारलाई अख्तियारको ‘निर्देशन’

भ्रष्टहरुको माखेसाङ्लोमा जेलिएको भन्दै केसीमाथि छानविन गरिने

१२ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. गोविन्द केसी मानसिक रुपमा अस्वस्थ रहेको भन्दै चाँडोभन्दा चाँडो उपचारको व्यवस्था मिलाउन सरकारलाई ‘निर्देशन’ दिएको छ ।
CIAA-Nepalडा. केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाइनुपर्ने माग राखेको केही घण्टापछि आइतबार साँझ अख्तियारले जारी गरेको तीन पृष्ठ लामो प्रेस विज्ञप्तिमा डा. केसीको मानसिक स्वास्थ्य ठीक नभएको, उनी भ्रष्टहरुको माखे साङलोमा जेलिएको र उनका गतिविधिलाई अख्तियारले आफ्नो स्मृतिमा राखेको जस्ता कुराहरु उल्लेख छन् ।
संवैधानिक निकायबाट व्यक्तिका विरुद्ध जारी गरिएको लामो प्रेस विज्ञप्तिमा भनिएको छ- ‘बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा। के।सी।को उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीको ‘दादागिरी अचाक्ली भएको’ भन्दै डा. केसीले दिएको अभिव्यक्तिपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ- आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. के.सी.को सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ ।
डा. केसीले लोकमानमाथि लगाएको आरोप प्रमाणित गर्न अख्तियारले चुनौती समेत दिएको छ । आरोप प्रमाणित गरे अख्तियार प्रमुखले सन्यास लिने प्रवक्ता कृष्णहरी पुस्करद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Press-Relese-of-CIAA-1Press-Relese-of-CIAA-2Press-Relese-of-CIAA-3 
http://www.onlinekhabar.com/2016/06/445470/

डा. गोविन्द केसीले भने- लोकमानको ब्ल्याकमेलिङ अचाक्ली भो !

 (भिडियोसहित)

अख्तियार प्रमुखलाई महाअभियोग लगाएर पदच्युत गर्न माग

https://www.youtube.com/watch?v=ZKCse_2R5SQ&feature=youtu.be

१२ असार, काठमाडौं । टिचिङ हस्पिटलका डाक्टर गोविन्द केसी चारसुत्रीय मागहरु अघि सार्दै आठौंपटक अनसनको तयारीमा छन् । असार २६ बाट सुरु हुने भनिएको यसपटक उनको अनसन अलिकति फरक मुद्दामा केन्द्रित हुने देखिएको छ ।
डा. केसीले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई पदच्युत गर्नुपर्ने माग राखेका छन् ।
आइतबार शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उनले अधिकांश समय लोकमानकै आलोचनामा खर्चे । यद्यपि उनका पुराना मागहरु पनि यथावत छँदैछन् । पत्रकार सम्मेलनमा डा. केसीले राखेका भनाइको सम्पादित अंश:
स्वास्थ्य क्षेत्रका बेथितिहरुलाई लिएर मैले आजसम्म सातचोटि सत्याग्रह गरेँ । विभिन्न सरकारसँग सम्झौता पनि भए । तर, ती सम्झौताहरु पूर्ण कार्यान्वयन भएनन् । कतिपय सम्झौता ठाडै उल्लंघन भए । कार्यान्वयन भएका पनि आफ्नै अनुकुलता अनुसार गरिए ।
हाम्रो लडाइँ बेथितिविरुद्ध हो । भ्रष्टाचार र दण्डहीनताविरुद्ध हो । राजनीतिमा मौलाएको बेथितिले शिक्षा र स्वास्थ्य क्षेत्र सबैभन्दा बेसी प्रभावित भएका छन् । यसबाट सर्वसाधारण जनता पीडित बनेका छन् ।
हामी स्वास्थ्य क्षेत्र स्वस्थ भएको हेर्न चाहन्छौं । चाहे हुम्लाका हुन् या धनगढीका,  ताप्लेजुङका हुन् या काठमाडौंका, सबै नेपालीले  गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच राख्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।
govinda kc (2)दोस्रो कुरा भनेको क्षमतावान विद्यार्थीहरुले गुणस्तरीय स्वास्थ्य शिक्षा पाउनुपर्छ । शहरमा होस् वा गाउँमा, गरिब होस् वा धनी, सबैको पहुँच उत्तिकै हुनुपर्छ स्वास्थ्य शिक्षामा । संविधानले नै यो अधिकारको सुनिश्चतता गरेको छ । यही अधिकारको व्यवहारिक कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो आशय हो । तर, भइरहेको छैन । यो सबैको जड राजनीति नै हो ।
देश समृद्ध हुन प्रत्येक नागरिक स्वस्थ र शिक्षित हुनुपर्छ । तर, यही क्षेत्रमा पार्टीकरण भइरहेको छ । पार्टी कार्यकर्ता भर्ती भइरहेका छन् । स्वस्थ रहेर जिउने नागरिकको नैसर्गिक अधिकार हनन भएको छ । राजनीतिक दलहरुले जनताको हितका लागि नीति निर्माण गर्नुपर्नेमा त्यसको विपरीत आफ्नो स्वार्थ पूरा गर्न अधिकार दुरुपयोग गरिरहेका छन् ।
नेपालको जनसंख्या ८० प्रतिशत गाउँमा बस्छ र २० प्रतिशत शहरमा । तर, हाम्रा मेडिकल कलेजहरु शहरकेन्द्रित छन् । त्यसैले सम्पूर्ण जनसंख्याको ३ चौथाइ नेपालीले आधारभूत स्वास्थ्य सेवा पाएका छैनन् । ग्रामीण भेगमा पनि स्वास्थ्य संस्था खुले पो उनीहरुले पनि स्वास्थ्य सेवा पाउथेँ ।
शहरमा भएका मेडिकल कलेज पनि सेवामूलक हुनुपर्नेमा मुनाफामूलक छन् । राजनीतिक दल नेता र संवैधानिक निकायका प्रमुखहरुले उनीहरुलाई मुनाफा कमाउने वातावरण बनाइदिएका छन् ।
अधिकांश देशहरुमा मेडिकल एजुकेसन फ्री छ । गरिब-धनी सबैले यो शिक्षा पाउँछन् । पैसाले बाधा हुँदैन । हाम्रोमा भने मेडिकल एजुकेसनलाई नाफामूलक बनाइएको छ । सबै लुट्नमा व्यस्त छन् । ९५ प्रतिशत नेपालीका लागि जम्मा २-३ सय सीट छन्, जो पैसा खर्च गरेर पढ्न सक्दैनन् । पैसा हुने ५ प्रतिशतका लागि असीमित सीट छ । सरकारी मेडिकल कलेज जम्मा तीन वटा छन् भने प्राइभेटमा १६-१७ वटा छन् । हुनुपर्ने सरकारीमा बेसी थियो ।
गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिभाशाली जनशक्ति आवश्यक हुन्छ । त्यसका निम्ति क्षमतावान विद्यार्थीले गुणस्तरीय स्वास्थ्य शिक्षा  हासिल गर्न पाउनुपर्छ । त्यस्ताखालका संस्था ग्रामीण भेगमा पुग्नुपर्छ । त्यसका लागि एउटा नीति बनोस् । नीतिअनुरुप देशमा कति मेडिकल कलेज आवश्यक छन्, कस्ता विद्यार्थीले पढ्न पाउँछन् भन्ने एकिन गरियोस । यो नीति विद्यार्थीमुखी र जनतामुखी हुनपर्छ । नेतामुखी, दलमुखी, व्यापारीमुखी हुनुभएन ।
अख्तियारको अनाधिकृत हस्तक्षेप
शिक्षा-स्वास्थ्य क्षेत्रमा अहिले ठूलोचिन्ताको विषय बनेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनाधिकृत हस्तक्षेप । अख्तियारको जिम्मेवारी त बेथिति हटाएर थिति बसाल्ने हो । भ्रष्टाचार निवारणै त नहोला, तर न्यूनीकरण गर्ने हो ।  तर, अख्तियारका प्रमुख आयुक्त नै भ्रष्टाचारमा लिप्त छन् । आफ्ना नातेदार र आफ्ना मान्छेहरुको स्वार्थ पूरा गर्न पदीय दुरुपयोग गरेर ठाउँ कुठाउँ हस्तक्षेप गर्दै हिँडेका छन् । भ्रष्टाचार रोक्ने जिम्मेवार पदमा बसेको व्यक्ति नै महाभ्रष्ट भएपछि के हुन्छ ? अहिले त्यही भइरहेको छ ।
govinda kc (3)
आफ्नो अधिकार क्षेत्रमा चैं केही गर्दैनन् उनी ।  करोडौं, अरबौं भ्रष्टाचार गर्नेसँग मिलेमतो गर्छन् । अनि, निर्दोषलाई ब्ल्याकमेलिङ गर्छन् । कतिलाई राजीनामा दिन बाध्य पार्छन् त कतिलाई मुद्दा लगाएर फसाउँछन् । के यो अधिकारको महादुरुपयोग होइन ?
यस्तो लाग्छ, अख्तियारले समानान्तर सत्ता चलाइरहेको छ । अख्तियार प्रमुखले जे गरे पनि कसैले छुन सक्दैन । अब अचाक्ली भो ।
अढाई-तीन वर्ष अगाडि पाचौं अनसन बस्दा पनि मैले अख्तियार प्रमुखलाई पदच्युत गर्नुपर्छ भनेर आवाज उठाएको थिएँ । तर, अहिलेसम्म उनी जहाँको त्यहीँ छन् । उनको दादागिरी घट्नुको साटो झन्-झन् असैह्य रुपले बढिरहेको छ ।
अहिले काठमाडौं युनिभर्सिटीमा हेर्नुस । त्यो एउटा स्वायत्त संस्था हो नि । उसको आफ्नो अधिकारक्षेत्र छ, विधि-विधान छ । तर, अख्तियारले हस्तक्षेप गरेर प्रवेश परीक्षा रद्द गरिदियो ।
लोकमानका भाइ-भतिजाको बिराटनगरमा मेडिकल कलेज छ । त्यसलाई सम्वन्धन दिने योग्यता पुगेको थिएन । तर, अख्तियारका प्रमुखले काठमाडौं युनिभर्सिटीमा २-३ चोटि गएर ब्ल्याकमेलिङ गरे । अन्ततः नियम नै चेञ्ज गर्न लगाएर ‘विस्तारित कार्यक्रम’ भनेर स्वीकृति दिन लगाए । त्यो कसरी विस्तारित कार्यक्रम हुन्छ ? आफ्नो स्वामित्वमा भएको संरचनामा सञ्चालन गर्ने भए पो विस्तारित कार्यक्रम । अरुको स्वामित्वमा सञ्चालन गर्ने भएपछि केको विस्तारित कार्यक्रम ?
यहाँ अर्को मेडिकल कलेज छ, नाम खोल्दिँन । तर, उनको आफ्नै भन्दा पनि हुन्छ । त्यसको पूर्वाधार केही पनि छैन । तर, उनले यहाँका पदाधिकारीलाई ब्ल्याकमेलिङ गरेर सीट बढाउन लगाउने, नयाँ कार्यक्रम शुरु गर्न लगाउने गरिरहेका छन् । नेपाल मेडिकल काउन्सिल चलाउने भनेको लोकमानसिंहले हो ? उनले त्यहाँका डाक्टरहरुलाई ब्ल्याकमेलिङ गर्छन् । मुद्दा लगाउने धम्की दिन्छन् र आफ्नो स्वार्थ पूरा गर्छन् । अरुलाई फसाउन अख्तियारलाई साह्रै सजिलो पनि छ । कसैलाई बेनामे उजुरी दिन लगाए भइगयो ।
निजी मेडिकल कलेजहरुले ठीकसँग काम गरेका छन् कि छैनन् भनेर इन्स्िटच्युट अफ मेडिसिनबाट अनुगमनमा जानुपर्ने हुन्छ । अनुगमनमा राम्रा मान्छे गए भने लोकमानले मुद्दा हालिदिन्छन् । त्यसो भएपछि राम्रा मान्छे त नजाने भए । अनुगमन गर्न डराउने भए । जसले उनले भनेको मान्छन्, उनीहरुलाई पठाइन्छ । यस्तो दादागिरी मैले इदी अमिनको सुन्थेँ । यिनी त इदी अमिनभन्दा पनि माथि रहेछन् ।
यिनले कुनै पनि क्षेत्रमा भाँजो हाल्न बाँकी राखेका छैनन् । अब उनलाई रोक्नुपर्छ । त्यसैका लागि मैले लोकमानलाई महाअभियोग लगाएर पदच्युत गर्ने माग राखेको हुँ । उनलाई हटाएर जिम्मेवार तथा स्वच्छ छवि भएको व्यक्ति त्यहाँ ल्याउनुपर्छ ।
वरिष्ठताका आधारमा नियुक्ति
पहिलेदेखि नेपालमा राजनीतिक भागबण्डाबाट नियुक्ति गर्ने प्रचलन हावी छ । फलानो पार्टीलाई डीन, फलानोलाई क्याम्पस चीफ, फलानोलाई  डाइरेक्टर भनेर आउँथ्यो । त्यही भएर मैले वरिष्ठताका आधारमा नियुक्ति हुनुपर्छ भन्दै आएको छु ।
जो राजनीतिक भागबण्डाबाट आउँछन्, बफादार राजनीतिक दलप्रति हुन्छन् । उनीहरुले गरेको धाँधली र भ्रष्टाचारमा कारवाही हुँदैन । मैले पहिलेदेखि नै यो आवाज उठाएको छु । वरिष्ठताका आधारमा हुनुपर्छ भनेको ३-४ वर्ष भयो । अहिले अलिकति सुधार भएको छ ।
प्रतिवद्धताले पुग्दैन
मैले आफ्ना चारबुँदे माग प्रस्तुत गरेको छु । विगतमा मैले थुप्रैपटक सम्झौता गरेर धोका पाएँ । यसपालि मैले माग पूरा गर्न दुई साताको म्याद दिएको छु । लोकमानलाई महाअभियोग लगाउने लगायत सबै माग पूरा गर्न यो पर्याप्त समय हो जस्तो लाग्छ । म यसपालि कुनै सम्झौता गर्ने पक्षमा छैन । कुनै उधारो प्रतिवद्धतामा विश्वास गर्दिँन । माग पूरा गराएरै छोड्छु ।
Demands of Dr. Govinda KC 1Demands of Dr. Govinda KC 2
http://www.onlinekhabar.com/2016/06/445470/
हाम्रो प्रशासन ‘बोका प्रशासन’ हो

हाम्रो प्रशासन ‘बोका प्रशासन’ हो

लोकसेवाको कापी जाँच्ने भीमदेव भन्छन्- यो ‘बोका प्रशासन’ हो
'नराम्रालाई छानेर निजामतिमा छिराउँदा प्रशासन कमजोर बन्दैछ'

Bhimdev-Bhatta१२ असार, काठमाडौं । प्रशासनविद भीमदेव भट्ट त्रिभुवन विश्वविद्यालयका पूर्वप्रध्यापक हुन् उनी लोकसेवा आयोगका पूर्वआयुक्त पनि हुन् । लोकसेवाबाट अवकाश पाएपछि पनि उनी लगातार त्यहाँको परीक्षामा अन्तर्वार्ता लिने र परीक्षाको कपी जाँच्ने जस्ता काममा निरन्तर संलग्न छन् ।
नेपालको निजामति प्रशासनको मसिनो अध्ययन गरेका भट्टसँग अनलाइनबखरले अहिलेको प्रशासनको अवस्थाबारे जिज्ञासा राख्दा जवाफमा उनले भने- हाम्रो प्रशासन ‘बोका प्रशासन’ हो, यसले सेवाग्राहीको हित हेर्दैन ।
राणा शासन र राजसंस्था कालमा हुकुमका भरमा प्रशासक तोकिन्थ्यो । शासकसँग पहुँच हुनु नै प्रशासकको योग्यता र क्षमता मानिन्थ्यो । त्यसबाहेक कुनै थप योग्यताको जरुरत थिएन । भट्टका अनुसार त्यस्तो प्रवृत्तिलाई ‘बोका प्रशासक’ भनेर चिनिन्थ्यो । यसको अर्थ एउटालाई प्रशासकको रुपमा अभ्याइन्थ्यो, तर प्रशासन आफैँ चल्थ्यो । यस्तो प्रशासन सेवाग्राहीको हितमा नहुने भट्टको विश्लेषण छ ।
प्रशासनविद् भट्ट अहिले पनि निजामति प्रशासनमा सुधार नभएको भन्दै यसलाई ‘बोका प्रशासन’कै रुपमा ब्याख्या गर्छन् । उनी भन्छन्- ‘प्रशासन सबैले चलाउन सक्छ र एउटालाई प्रशासकका रुपमा ठड्याइदिएपछि चल्छ भन्ने मान्यता छ । यो राणाका पालामा चलेको शब्द हो ।
प्रशासनलाई ‘बोका प्रशासन’ भन्नुका पछाडि उनका केही थप तर्कहरु छन् । कार्यालय प्रमुखको नियुक्ति क्षमताका आधारमा नभएर राजनीतिक पहुँचका भरमा हुन्छ । जति कर्मचारी छन्, एउटा न एउटा दलको कार्यकर्ताको रुपमा स्थापित छन् । त्यो गर्न हुन्छ ? उनी भन्छन्- ‘यस्तो कर्मचारीबाट निश्पक्ष सेवा लिन सकिँदैन । ४० वटा आलुको थुप्रोबाट २५ बटा बिग्रेको आलु निकाल्नुजस्तै भएको छ प्रशासन सुधारका कुरा ।’
भट्टले चुनौतीको भाषामा भने- ‘जिल्लामा काम गरेको र कुनै पार्टीसँग सम्बन्धित नभएको कुन एउटा कर्मचारी सचिव बन्न सक्यो ? मलाई उदाहरण हेर्न मन छ ।’
दलनिकट कर्मचारीहरुले सेवाग्राहीभन्दा दलको हितमा उसैको इशारामा काम गर्ने गरेको बताउँदै भट्ट भन्छन्, ‘सच्चा प्रशासकले सेवाग्राहीको हित हेर्छ, हाम्राले दलको हित हेर्छन, त्यही भएर यी सबै बोका प्रशासक भए ।’
आफ्नो पक्षधर मान्छे आयो भने राम्रो सेवा दिने, अर्को पक्षलाई रेस्पोन्स नदिने प्रवृत्ति जिल्ला कार्यालयमा मौलाएको भट्टको दाबी छ । यसका लागि उनको तर्क छ, ‘नत्र फलानो मान्छेलाई सिडियो बनाऊ, फलानोलाई हटाउ भनेर किन दबाव दिने ?’
अहिलेको अवस्थालाई सुधार नगर्ने हो भने  निजामति प्रशासनको आयु धेरै टाढा नरहेको भट्टको दाबी छ । लोकतन्त्र हुँदै मुलुक गणतन्त्रको संघीय मोडलमा जाँदै गर्दा निजामति प्रशासन भने थप कमजोर बन्दै गएको उनको बुझाइ छ ।
नयाँ पुस्ताबाट झनै निराश 
प्रशासनविद् भट्ट हरेक बर्ष लोकसेवा आयोगले लिने परिक्षाको कपी जाँच्छन् । तर, उनले भविश्यमा प्रशासन सुधारको संकेत भेटेका छैनन् । उनी नयाँ पुस्ताका कर्मचारीसँग पनि सन्तुष्ट देखिँदैनन् ।
उनी भन्छन्, ‘२० वर्षअघि लोकसेवामा आउने उम्मेदवार र अहिलेको उम्मेदवारको स्तर दाँज्दा अहिलेका उम्मेदवारको स्तर धेरै तल गिरेको छ । उनीहरुमा जुन प्रतिभा देखिनुपर्ने हो, त्यो पाइँदैन ।’
भट्टका अनुसार विगतमा अधिकृतका लागि ७० देखि ८० अंक ल्याएर प्रतिस्पर्धा हुने गरेकोमा त्यो अंक घटेर ४० देखि ४२ अंक पुगेको छ ।
उनी भन्छन्, ‘हिजो राम्रा मध्येबाट सबैभन्दा राम्रालाई प्रशासनमा ल्याउँदा त प्रशासनको हालत यस्तो छ, अहिले नराम्रा मध्येका राम्रालाई निजामतिमा छिराइरहेका छौँ । त्यसकारण हाम्रो प्रशासन थप कमजोर बन्दैछ ।
लोकसेवा आयोगमा पछिल्लो समय प्रतिस्पर्धा गर्न पुगेका विद्यार्थीको क्षमताको व्याख्या गर्दै भट्ट भन्छन्, उनीहरुको अध्ययन नै पुगेको छैन । ब्याचलर, मास्टर त गरे, तर प्रतिभाशाली छैनन्, यो कुरा लेख्ने भाषामा झल्किन्छ । उनी थप्छन्, ‘राष्ट्र राजनीतिले बन्दैन, बुद्धिले बन्छ । जबसम्म बुद्धीलाई मान्यता दिदैनौँ, तबसम्म देश उँभो लाग्न सक्दैन ।’
सुब्बा सा’बको दाउ पैसा कमाउने
सुब्बा तहका कर्मचारीमाथि प्रश्न उठाउँदै भट्ट भन्छन्,  राम्रो स्कुलमा पढ्न नपाउँदाको बाध्यता होला, अवसरहरु पाएनन् होला, तर सेवाग्राहीलाई सेवा नदिएर कहाँ पैसा कमाइन्छ भन्दै चाहार्दै हिँड्नु त उनीहरुको आफ्नै समस्या हो नि ।
भट्टका अनुसार ८० देखि ८५ प्रतिशत नयाँ अधिकृतहरु सुब्बाबाट प्रमोशन भएर पुग्ने गरेका छन् । राम्रोसँग पढेका प्रतिभाहरु विदेशमा गइरहेका छन्, निजामतिमा आइरहेका छैनन् ।
http://www.onlinekhabar.com/2016/06/445167/